देश विदेशमा काम गरेर बनाएको घर आगो लगाइदिए : गभर्नर विश्वनाथ पौडेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलको भैंसेपाटीस्थित घर मंगलबार जेनजी प्रदर्शनकारीले आगजनी गरेका छन्। साढे पाँच आना जग्गामा बनेको उक्त घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

गभर्नर पौडेलले बिहीबार सामाजिक सञ्जालमार्फत आफ्नो जल्दै गरेको घरको भिडियो सार्वजनिक गर्दै गहिरो पीडा व्यक्त गरेका छन्। उनले योजना आयोगको उपाध्यक्ष हुनुअघि नै छात्रवृत्ति र विदेशमा काम गरेर आफ्नै प्रयासमा घर निर्माण गरेको उल्लेख गर्दै परिवारका लागि अमूल्य सम्झनाहरू समेत जलेर खरानी भएको बताए।

उनका अनुसार घरभित्र दुर्लभ पुस्तक, पुराना ऐतिहासिक सामग्री, विभिन्न देशका कलाकृति, देवदेवताको मूर्ति, भियतनामी सिल्क पेन्टिङ र जंगबहादुरको प्रेमिका लौरा बेलको जीवनी समेत राखिएका थिए। साथै, छोरीको मनपर्ने कोठा र गुरु रिम्पोछेले दिएको खेलौनासमेत आगोले नष्ट गरेको उनले दुःख व्यक्त गरे।

“श्रीमती र ९ वर्षीया छोरीलाई यो घर मन परेकाले गभर्नर भएपनि यही घरमै बसिरहेका थियौँ। तर, अब हामी सबै शरणार्थी जस्तै भयौँ,” पौडेलले भने। उनले बताए अनुसार आगजनीपछि राति पनि केही व्यक्तिहरुले घरमा ढुङ्गा हान्ने र सामान चोर्ने काम गरेका थिए।

पौडेलले साथीहरूलाई आफू ठीक भएको बताए पनि वास्तविक पीडा ठूलो रहेको उल्लेख गर्दै भने, “हिजो राति म भन्दा पनि पीडामा परेका व्यक्तिहरुको बारेमा पढेँ। त्यसैले सबैलाई जानकारी होस् भनेर यो भिडियो सार्वजनिक गरेको हुँ।”

यसबीच नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेका बेला गभर्नर पौडेलले आफूले कसैसँग अनुचित लाभ नलिएको र पद ग्रहण गर्दा पनि चुनौतीपूर्ण अवस्थाबाट जिम्मेवारी सम्हालेको स्मरण गराएका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।