ललितपुर। गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बज्रबाराही अस्पताललाई अझ प्रभावकारी, भरपर्दो र गुणस्तरीय बनाउन जोड दिएका छन्।
निजामती सेवा दिवसको अवसरमा बज्रबाराही चापागाउँ अस्पतालको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी ललितपुरको समन्वयमा आइतबार आयोजित रक्तदान कार्यक्रम उद्घाटन गर्दै उनले अघिल्ला वर्षको तुलनामा अस्पतालले स्वास्थ्य सेवा स्तर वृद्धि गरिरहेको उल्लेख गरे।
नगरप्रमुख महर्जनले भने, “सेवाग्राही सन्तुष्ट हुने क्रम बढ्दै गएको छ। दशैं अघि नै अस्पतालमा डेन्टल मेसिनको व्यवस्था गरिनेछ। गोदावरी नगरपालिकासहित दक्षिण ललितपुरका तीनवटै गाउँपालिकाका नागरिकले अझ सहज र विश्वासिलो सेवा पाउने व्यवस्था मिलाइनेछ।”
उनले अनुशासन, इमानदारी र प्रभावकारी सेवामार्फत नागरिक सन्तुष्टि आर्जन गर्न आग्रह गरे। साथै, ललितपुरमा रगतको आवश्यकता पर्दा नेपाल रेडक्रसले गरेको प्रभावकारी समन्वयलाई सराहना गर्दै अझ सेवा प्रवाहमा ध्यान दिनुपर्ने बताए।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी ललितपुरका सभापति बाबुराजा महर्जनले रक्त सञ्चार केन्द्रमार्फत संकलित रगतलाई निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको जानकारी दिए।
अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष रामहरि घिमिरेले अस्पताललाई नागरिकमैत्री बनाउन लागिपर्ने प्रतिबद्धता जनाए भने मेडिकल सुपरिटेन्डेन्ट डा. अंकुर पौडेलले रक्तदानलाई असाधारण कार्य भन्दै “एकजनाले दिएको रगतले अर्कोको जीवन बचाउन सकिन्छ” भन्ने धारणा राखे।
Comment