काठमाडौं । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत पात्रोअनुसार प्रतिपदा तिथि श्राद्ध आज अपराह्नसम्म गर्नुपर्ने व्यवस्था छ।
धर्मशास्त्रविद् प्रा. देवमणि भट्टराईका अनुसार आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र तिथिमा दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गरिन्छ। यही कारण यसलाई ‘सोह्र श्राद्ध’ भनिएको हो। यो समयलाई अपर, प्रेत पक्ष आदिका नामले पनि चिनिन्छ।
वैदिक सनातन परम्परा अनुसार चाडपर्व, यज्ञयागादि वा ठूला कार्य अघि पितृलाई सम्झेर श्रद्धा भक्तिसाथ श्राद्ध गर्ने परम्परा छ। यस समयमा पितृले आश गरेर बस्ने धार्मिक विश्वास रहेको प्रा. तोयराज नेपाल बताउँछन्। श्राद्ध नगरे अक्षम्य दोष लाग्ने भएकाले पितृ ऋणबाट मुक्त हुने धर्मशास्त्रीय आधारमा यो कर्म गरिन्छ।
धर्मशास्त्रअनुसार श्राद्ध अपराह्नकालमा गर्नुपर्ने भए पनि कतिपय पुरोहितले बिहानै गर्ने प्रचलन बनाएको उल्लेख गर्दै समितिका अध्यक्ष प्रा. शम्भुप्रसाद ढकालले यस्तो अभ्यास शास्त्रसम्मत नभएको जनाएका छन्।
कुनै कारणले निर्धारित समयमा श्राद्ध गर्न नसकिएमा आश्विन कृष्ण औँसीदेखि आश्विन शुक्ल पञ्चमीसम्म वा कार्तिक कृष्ण औँसी (लक्ष्मीपूजाको दिन) तथा वृश्चिक सङ्क्रान्तिसम्म गर्न सकिने विकल्प धर्मग्रन्थमा उल्लेख छ। त्यतिबेलासमेत श्राद्ध गर्न नसक्नेहरूले ब्राह्मणमार्फत वा स्वयं १० महिनासम्म दैनिक १०८ मन्त्र जप गरेर पितृलाई तृप्ति दिलाउन सक्ने शास्त्रीय व्यवस्था रहेको समितिका सदस्य प्रा. भट्टराईले बताए।
सोह्र श्राद्ध सम्पन्न भएपछि दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुने धार्मिक मान्यता छ। चाडपर्व मनाउनुअघि पितृ तृप्तिका लागि श्राद्ध गर्नु वैदिक सनातनी परम्परा मानिन्छ।
Comment