एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओ भदौ २९ देखि खुल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। यस पटक कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई लक्षित गरी शेयर निष्काशन गर्ने तयारी गरेको हो।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई कुल जारी पुँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत बराबर, अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँका ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति दिएको छ।

उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि २ लाख ६१ हजार ६२९ कित्ता शेयर छुट्याइएको छ। यी शेयर चितवनको रत्ननगर नगरपालिकाका सबै वडाका बासिन्दाले खरिद गर्न सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता शेयर सुरक्षित गरिएको छ। यसका लागि सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त नेपालीले आवेदन दिन सक्नेछन्। यसबाहेक कम्पनीका कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता शेयर छुट्याइएको छ।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन असोज १२ गतेदेखि २७ गतेसम्म खुला रहनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन असोज १ देखि १२ गतेसम्म खुला रहनेछ।

कम्पनीको मूल्यांकनमा इक्रा नेपालले यसलाई डबल बी (BB) रेटिङ्ग दिएको छ, जसले मध्यम स्तरको जोखिम संकेत गर्दछ। शेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडले लिएको छ। स्थानीय बासिन्दाले कम्पनी कार्यालय रत्ननगर, प्रभु क्यापिटल कमलादी वा अनलाइन माध्यमबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले स्वीकृत बैंक तथा वित्तीय संस्थाका शाखामार्फत आवेदन दिन सक्नेछन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।