काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोध गर्दै पत्रकारहरुले आज विरोध प्रदर्शन गर्ने भएका छन ।
नेपाल पत्रकार महासंघका पूर्व पदाधिकारी र सदस्यहरुको आव्हानमा विरोध प्रदर्शन हुन लागेको हो ।
महासंघका पूर्व पदाधिकारी तथा सदस्यहरुको आह्वानमा आज दिउँसो २ बजे माइतिघर मण्डलामा विरोध प्रदर्शनको आयोजना गरिएको छ । उनीहरुले सामाजिक सञ्जाल खुला गर्न माग गर्दै बिज्ञप्ती समेत जारी गरेका थिए ।
सरकारद्वारा फेसबुक, एक्स, युट्युबलगायतका सामाजिक सञ्जालहरुमाथि लगाइएको प्रतिबन्धप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्तीमा उल्लेख छ । दर्ता नभएको बहानामा सामाजिक सञ्जालमाथि लगाइएको यो प्रतिबन्धले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि गम्भीर आघात पुगेको आफुहरुको ठहर रहेको औल्याइएको छ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको प्राणवायु भएको भन्दै बिज्ञप्तीमा नेपालको संविधानले धारा १७, १९ र २७ मार्फत प्रेस स्वतन्त्रता, सञ्चारको हक र सूचनाको हकको निर्बाध उपभोगको प्रत्याभूति गरेको उल्लेख गरिएको छ।
यस्ता संवैधानिक अधिकारलाई कुण्ठित गर्ने र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रका विश्वव्यापी मान्यताविपरीत र पूर्णरूपमा अस्वीकार्य कार्य भएको उनीहरुले औल्याएका छन् ।
सामाजिक सञ्जालको प्रयोगमा देखिएका समस्याहरूलाई समाधान गर्न सार्वभौम संसदबाट कानुन बनाएर व्यवस्थित र पारदर्शी नियमनको बाटो खुला हुँदाहुँदै सामाजिक सञ्जालहरूलाई पूर्णरूपमा बन्द गर्ने सरकारको कठोर र अलोकतान्त्रिक कदमप्रति गम्भीर आपत्ति भएको बिज्ञप्तीमा उल्लेख छ ।
‘सरकारको यो कदमले विदेशमा रहेका लाखौँ नागरिक र उनको परिवारबीचको सम्पर्क टुटाएको मात्र छैन्, बालबालिकाको सिकाईमा दीर्घकालीनरुपमा प्रभाव पर्ने देखिएको छ । हजारौँ व्यक्तिको रोजीरोटीसमेत बन्द भएको छ,’ बिज्ञप्तीमा भनिएको छ,
‘अभिव्यक्ति स्वतन्त्रतालाई निषेध गर्ने कार्य लोकतन्त्रमा किमार्थ स्वीकार्य हुन सक्दैन । हामी सरकारसँग बन्द गरिएका सामाजिक सञ्जालहरू तत्काल खुला गरी अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको सम्मान गर्न जोडदार माग गर्दछौँ ।’
Comment