बागलुङ । बागलुङमा एक करोड रुपैयाँ लगानीमा संचालित साबुन उद्योगले स्वरोजगार र उद्यमशीलताको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। काठेखोला गाउँपालिका–७ का तीर्थ गौतम र तारा शर्माले पछिल्ला दुई वर्षदेखि ‘कालिका साबुन’ उत्पादन गर्दै आएका छन्। स्नातकोत्तर उत्तीर्ण तीर्थ र तारा विदेश जाने विकल्पको सल्लाह पाउने भए पनि उनीहरूले नेपालमै उद्यमी बन्ने सपना रोजे।
उनीहरूको उद्योगले हाल छ जनालाई रोजगारी दिएको छ। बागलुङ बजारको हल्लनचोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङमा उनीहरूले भाँडा र कपडा धुने साबुन उत्पादन गर्दै बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङसहित म्याग्दी र पर्वतका मुख्य सहरमा बिक्री गर्दै आएका छन्। विसं २०७८ मा उद्योग दर्ता गरेपछि २०८० सालबाट उत्पादन सुरु भएको यस उद्योगमा हाल एक करोड रुपैयाँभन्दा बढी लगानी भएको छ।
तीर्थ र ताराले निकट भविष्यमा सरफ, हर्पिक र कुलिनजस्ता उत्पादन विस्तार गर्ने योजना पनि बनाएका छन्। उनीहरूले भन्छन्, “विदेश जाने प्रवृत्ति अहिले बढेको छ, तर हामीले यहीँ केही गर्नुपर्छ भन्ने सोचले साबुन उद्योग सुरु गरेका हौं। नयाँ कामको सुरुआत आफैंबाट थालनी गर्दा गाउँठाउँका स्थानीयले रोजगारी पाउँछन्।”
साबुन उत्पादनका लागि आवश्यक अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौँबाट खरिद गरिन्छ। वार्षिक करिब ५० लाख रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ। उनीहरूले उत्पादनको मात्र नभई गुणस्तरमा समेत विशेष ध्यान दिएका छन्।
Comment