काठमाडौं । आज (भाद्र शुक्ल पूर्णिमा) आइतबार राति खग्रास चन्द्रग्रहण लाग्ने भएको छ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार ग्रहण राति १०:११ बजे स्पर्श भएर १:४१ बजे मोक्ष हुनेछ। यस अवधिमा राति ११:१५ बजे सम्मीलन, ११:५६ बजे मध्य र १२:३८ बजे उन्मीलन हुनेछ। खग्रासको अवधि १ घण्टा २३ मिनेट रहनेछ भने सम्पूर्ण ग्रहण ३ घण्टा ३० मिनेटसम्म रहने समितिले जनाएको छ।
यो चन्द्रग्रहण नेपाल, भारतसहित एसियाका धेरै देशबाट सुरुदेखि अन्तसम्म अवलोकन गर्न सकिनेछ। सूर्यग्रहण औंसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने परम्परा अनुसार, आजको ग्रहण पनि पूर्णिमाकै दिन परेको हो। वैज्ञानिकहरूका अनुसार चन्द्रग्रहण पूर्णतया हानिरहित हुने भएकाले यसलाई खुला आँखाले निःशङ्का हेर्न सकिन्छ। तर सूर्यग्रहण भने खुला आँखाले हेर्न नहुने चेतावनी दिइएको छ।
ज्योतिषविद्हरूले आगामी फागुन १९ गते फागु पूर्णिमाका दिन पनि खण्डग्रास चन्द्रग्रहण लाग्ने बताएका छन्। धार्मिक परम्परा अनुसार आज दिउँसो १:११ बजेपछि बाल, वृद्ध र बिरामी बाहेक अरूले भोजन नगर्न सिफारिस गरिएको छ।
Comment