पोखरा । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले दलाल र बिचौलियाको धाक–धम्कीमा आधारित भएर टिकेको आरोप लगाएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघले शनिबार पोखराको लेकसाइडमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेस–एमाले गठबन्धनले आफ्नो बुद्धि वा क्षमता होइन, डर र दबाबका कारण सत्ता हात पारेको दाबी गरे।
‘कांग्रेस–एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस–एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।’
उनले हाल दलाल पुँजीवादको प्रतिनिधित्व कांग्रेस र एमालेले गरिरहेको आरोप लगाउँदै माओवादी केन्द्र वैकल्पिक शक्ति भएको बताए। ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो,’ प्रचण्डले जोड दिए।
सहकारी क्षेत्रमा हुने ठगी रोक्न शक्तिशाली प्राधिकरण गठन गर्ने पहल गरेकै कारण सरकार ढालिएको दाबी पनि उनले गरे।
Comment