काठमाडौं । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
महाधिवेशनमा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलको संगठनात्मक प्रतिवेदन प्रस्तुत गरिनेछ । करिब २ हजार ३४१ प्रतिनिधि तथा आयोजक सहभागी हुने अपेक्षा गरिएको एमाले महासचिव पोखरेलले जानकारी दिए । उनका अनुसार, विधान महाधिवेशनले पार्टीको विचार र नीति सम्बन्धी छलफल गर्नेछ भने नेतृत्वसम्बन्धी छलफल आगामी राष्ट्रिय महाधिवेशनले गर्नेछ ।
महाधिवेशनस्थलमा चारवटा प्रवेशद्वार बनाइएको छ । पहिलो द्वार ओलीका लागि मात्र तोकिएको छ भने अन्य पदाधिकारी, मन्त्री तथा मुख्यमन्त्रीहरू प्रतिनिधिसँगै दोस्रो र तेस्रो प्रवेशद्वारबाट प्रवेश गर्ने व्यवस्था गरिएको छ । प्रवेशका लागि छवटा कम्प्युटर स्क्यान बुथ राखिएको छ । अन्तिम प्रवेशद्वार खाद्यान्न तथा पानी ढुवानीका लागि खुला गरिएको छ ।
हलभित्र प्रवेश गरेपछि ओलीको पूर्णकदको तस्वीर र महाधिवेशनको लोगो राखिएको छ । त्यस्तै, २२ सय स्क्वार फिटको डिजिटल बोर्ड पनि जडान गरिएको छ । महाधिवेशनस्थलको भित्तामा लोगो र ‘सीपीएन यूएमएल’ लेखिएको छ भने परिसरमा पानी फोहरामा सेता हाँस सजाइएको छ ।
परिसरमा नेकपाका संस्थापक पुष्पलाल, पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी, जननेता मदन भण्डारीसँगै कार्ल मार्क्स, फ्रेडरिक एंगेल्स र भ्लादिमिर लेनिनका पूर्णकदका तस्वीर राखिएका छन् ।
महाधिवेशनको पहिलो दिन उद्घाटन समारोहपछि सबै प्रतिवेदन र दस्तावेज पेश गरिनेछ । शनिबार १० समूहमा विभाजन गरी छलफल गर्ने र आइतबार अन्तिम दिन दस्तावेज पारित गर्दै केन्द्रीय निर्वाचन आयोगमार्फत निर्वाचन सम्पन्न गरिने कार्यक्रम रहेको छ ।
Comment