काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूको विदेशी भुक्तानी र सेयर लगानीलाई व्यवस्थित गर्न नयाँ निर्देशिका जारी गरेको छ ।
प्राधिकरणले बुधबार ‘बीमकको विदेशी मुद्रा सटही सिफारिस सम्बन्धी निर्देशन, २०८२’ जारी गर्दै पुनर्बिमा, रेट्रोशेसन तथा विदेशबाट ल्याइने परामर्श सेवाका लागि हुने भुक्तानी अब प्राधिकरणको सिफारिस लिएर मात्र गर्नुपर्ने व्यवस्था गरेको हो ।
निर्देशनअनुसार विदेशी बीमक वा दलालमार्फत गरिएको पुनर्बिमा शुल्क, बीमा दाबी, लाभांश फिर्ता तथा सेवा शुल्कको भुक्तानी गर्दा तोकिएका कागजातसहित प्राधिकरणमा पेश गर्नुपर्नेछ । त्यस्तै, विदेशी सर्भेयरको पारिश्रमिक, क्रेडिट रेटिङ, सफ्टवेयर र तेस्रो पक्ष सहजकर्तासम्बन्धी भुक्तानीमा पनि कागजात अनिवार्य गरिएको छ ।
प्राधिकरणले सूचीकरण भएका र रेटिङ प्राप्त पुनर्बिमक तथा दलालमार्फत मात्र पुनर्बिमा भुक्तानी सिफारिस गरिने जनाएको छ । साथै बीमकले सटही सिफारिसका लागि पेश गरेका कागजात तथा स्वीकृतिपत्र पाँच वर्षसम्म सुरक्षित राख्नुपर्ने र भुक्तानी विवरण प्रत्येक चौमासको १५ दिनभित्र प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ ।
यससँगै, प्राधिकरणले ‘बीमकको लगानीसम्बन्धी निर्देशन, २०८२’ जारी गरी सूचीकृत कम्पनीमा लगानी गर्ने सीमा पनि बढाएको छ । अब बीमा कम्पनीहरूले साधारण वा संस्थापक सेयरमा कुल लगानीको १५ प्रतिशतसम्म लगानी गर्न सक्नेछन्, जुन सीमा यसअघि १० प्रतिशत थियो । तर लगानी गर्दा खरिद गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशतभित्र मात्र रहनुपर्नेछ ।
यस्तै, इन्भेष्टमेन्ट कम्पनीको सेयर खरिदमा रोक नभए पनि कुल लगानीको ५ प्रतिशतभन्दा बढी गर्न नपाइने र त्यस्तो कम्पनी पब्लिक लिमिटेड हुनुपर्ने शर्त राखिएको छ ।
Comment