साउनमा थप घट्यो बैंकको कर्जा लगानी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिनामा वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जा ११ अर्ब रुपैयाँले घटेको छ। असारमा ४९ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको बैंकहरूले साउनमा लगानी घटाएर ४९ खर्ब ६४ अर्ब रुपैयाँमा सीमित गरेका हुन्।

बैंकरहरूका अनुसार व्याजदर न्यून भए पनि कर्जाको माग सुस्त छ। निर्माण क्षेत्रलगायतमा अपेक्षित माग नबढ्दा कर्जा विस्तार रोकिएको हो। पछिल्ला महिनामा सेयर र घरजग्गा क्षेत्रमा भने केही माग बढेको देखिएको छ।

यस अवधिमा बैंकहरूको निक्षेप पनि ५२ अर्ब रुपैयाँले घटेको छ। असारमा ६५ खर्ब ३१ अर्ब रुपैयाँ संकलन गरेको निक्षेप साउनमा घटेर ६४ खर्ब ७९ अर्ब रुपैयाँमा पुगेको छ। अहिले बैंकहरूसँग करिब ७ खर्ब रुपैयाँ बराबरको कर्जा लगानीयोग्य रकम बाँकी छ।

२० वाणिज्य बैंकमध्ये १० बैंकको कर्जा साउनमा घटेको छ भने १० बैंकले बढाएका छन्। सबैभन्दा बढी कर्जा बढाउनेमा एभरेष्ट बैंक रहेको छ, जसले ५ अर्ब ६४ करोडले कर्जा विस्तार गरी २ खर्ब २९ अर्ब ३० करोड पुर्‍याएको छ। ग्लोबल आईएमईले पनि ४ अर्बले कर्जा बढाएको छ। तर, एनआईसी एशिया बैंकले मात्र ८ अर्ब ६८ करोडले कर्जा घटाएको छ।

निक्षेप वृद्धिमा ग्लोबल आईएमई अगाडि देखिएको छ। बैंकले साउनमा ७ अर्ब ९६ करोडले निक्षेप बढाएर ५ खर्ब ८३ अर्ब पुर्‍याएको छ। त्यस्तै नबिल बैंकले ४ अर्ब ७६ करोडले बढाएर ५ खर्ब ३७ अर्ब पुर्‍याएको छ। हिमालयन बैंक, नेपाल एसबीआई र स्ट्यान्डर्ड चार्टर्डले पनि निक्षेप बढाएका छन्।

तर, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल बैंक र प्रभु बैंकको निक्षेप भने उल्लेख्य मात्रामा घटेको छ। यसरी पहिलो महिनामै कर्जा र निक्षेप दुवै घट्दा बैंकिङ प्रणालीमा तरलता प्रचुर भए पनि कर्जा प्रवाह विस्तार हुन नसकेको प्रस्ट भएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।