काठमाडौं । सेवानिवृत्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाको सम्मानपूर्वक बिदाइ गरिएको छ । बुधबार गृहमन्त्रालयमा आयोजित विशेष कार्यक्रमकाबीच गृहमन्त्री रमेश लेखकले थापालाई सफल कार्यकाल सम्पन्न गरी सेवानिवृत्त जीवनको शुभकामना दिँदै बिदाइ गरे ।
कार्यक्रममा गृहमन्त्री लेखकले थापाले आफ्नो कार्यकाल निष्ठा, व्यावसायिकता र इमानदारितापूर्वक सम्पन्न गरेको भन्दै आगामी दिनमा व्यावसायिक जीवनमा उत्तरोत्तर प्रगति होस् भन्ने शुभकामना दिए ।
यस अवसरमा गृहसचिव गोकर्णमणि दुवाडीले शान्ति–सुव्यवस्था कायम गर्ने जिम्मेवारी सफलतापूर्वक पूरा गरेको भन्दै थापाको योगदानको प्रशंसा गरे । उनले सेवानिवृत्त जीवन अझ स्वस्थ, रचनात्मक र क्रियाशील रहोस् भन्ने शुभकामना समेत व्यक्त गरे ।
प्रहरी महानिरीक्षक थापाले भने नेपाल प्रहरीजस्तो गौरवशाली संस्थाको सदस्य भई देश र नागरिकको सेवामा समर्पित हुन पाएकोमा आफूलाई गर्व लागेको बताए । उनले आफ्नो कार्यकालमा संविधान र कानुनअनुसारका जिम्मेवारी पारदर्शी र निष्पक्ष ढंगले पूरा गरेको उल्लेख गर्दै नेपाल प्रहरीको आधुनिकीकरण, साङ्गठनिक सुदृढीकरण र विकासका लागि सरकार र गृहमन्त्रालयबाट पाएको सहयोगप्रति कृतज्ञता प्रकट गरे ।
बिदाइ कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका वरिष्ठ अधिकारीलगायतको उपस्थिति थियो ।
Comment