काठमाडौँ । आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेडले आफ्नो व्यवस्थापनमा सञ्चालन हुने ‘आरबिबि फोकस ४०’ सामूहिक लगानी कोषको इकाई आजदेखि सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमा ल्याएको छ। बैंकिङ संस्थाले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरका १० करोड इकाई निष्काशन गर्न लागेको हो। यसमध्ये राष्ट्रिय वाणिज्य बैंकलाई कोष प्रबर्द्धकको हैसियतले कम्तीमा १ करोड ४० लाख इकाई (१४ प्रतिशत) सुरक्षित गरिएको छ भने योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङका लागि १० लाख इकाई (१ प्रतिशत) छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
निवेशकले न्यूनतम १०० इकाईदेखि अधिकतम एक करोड इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। निष्काशन अवधि छिटोमा भदौ २२ सम्म रहनेछ र यदि सो अवधिभित्र सम्पूर्ण इकाई बिक्री नभएमा असोज १ सम्म लम्बिन सक्ने व्यवस्था छ।
यो कोषको अवधि १२ वर्ष रहनेछ। नेपाल धितोपत्र बोर्डको अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
कोष प्रबर्द्धक राष्ट्रिय वाणिज्य बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ इश्युअर रेटिङ दिएको छ भने योजना व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङलाई इक्रा नेपालले ‘इक्राएनपी एएमसी क्वालिटी ३’ रेटिङ प्रदान गरेको छ।
‘आरबिबि फोकस ४०’ कोषले नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरूमा लगानी गर्दै उच्चतम प्रतिफल दिने सम्भावना भएका ४० कम्पनीहरूलाई प्राथमिकतामा राखी लगानी गर्ने योजना बनाएको छ। परिस्थितिअनुसार आवश्यक ठानेमा तोकिएको संख्याभन्दा बढी कम्पनीको सेयरमा समेत लगानी गर्न सकिने व्यवस्था गरिएको छ।
Comment