काठमाडौं । भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै राख्नुपर्नेमा जोड दिएको छ। आयोगले नेपालको संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली नै हुने व्यवस्था रहेको भन्दै नम्बर प्लेटलाई अंग्रेजी भाषामा राख्ने व्यवस्था असंवैधानिक हुने स्पष्ट पारेको हो।
आयोगका अध्यक्ष डा. गोपाल ठाकुरका अनुसार संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा पनि यसबारे स्पष्ट व्याख्या गरिएको आयोगले जनाएको छ।
आयोगले भदौ १ गतेको निर्णयअनुसार देवनागरी लिपीमा नम्बर प्लेट राख्नुपर्ने मागसहित नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराएको छ। आयोगले यसलाई आफ्नो संवैधानिक दायित्वको भाग भन्दै सबै तहका सरकारलाई सो व्यवस्था कार्यान्वयन गर्न आग्रह गरेको छ।
Comment