खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा अनलाइन सेवा सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनलाइनमार्फत सेवा प्रवाह गर्न सुरु गरेको छ। विभागले सुरु गरेको प्रणाली अन्तर्गत खाद्य उद्योग दर्ताको सिफारिस, अनुमतिपत्र जारी र नवीकरण सेवा अनलाइनमार्फत उपलब्ध हुनेछ।

यस प्रणालीलाई विभागले नेपाल्स फूड एण्ड फिड इन्डस्ट्रि लाइसेन्सिङ सिस्टम नामकरण गरेको छ। उद्योगी व्यवसायीलाई प्रणालीको प्रयोगबारे जानकारी दिने उद्देश्यले विभागमा महानिर्देशक संजीवकुमार कर्णको अध्यक्षतामा अभिमुखीकरण तथा तालिम सम्पन्न गरिएको थियो। कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका ७० भन्दा बढी खाद्य उद्योगी र विभिन्न छाता संगठनका प्रतिनिधिहरू सहभागी भए।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार प्रवाह हुने सेवा अब अनलाइन प्रणालीमार्फत दर्ता, अनुमतिपत्र जारी तथा नवीकरण गर्न सकिनेछ। उद्योगीले आवश्यक विवरण र कागजात अपलोड गर्न सक्ने, आवेदनको स्थिति अनलाइनबाटै हेर्न सक्ने, साथै ईमेलमार्फत सूचना आदानप्रदान हुने व्यवस्था गरिएको विभागले जनाएको छ।

महानिर्देशक कर्णका अनुसार नयाँ प्रणालीले अनुमतिपत्रसम्बन्धी सम्पूर्ण प्रक्रिया पेपरलेस र फेसलेस हुने र सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउनेछ। हाल काठमाडौं र हेटौंडास्थित कार्यालयमार्फत अनलाइन सेवा सुरु भए पनि चाँडै नै सबै कार्यालयबाट सेवा प्रवाह हुने जानकारी दिइएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।