काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा तीव्र हुने पूर्वानुमान मौसमविद्हरूले गरेका छन्। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर रहेकाले दिउँसो देशभर सामान्य बदली रहनेछ।
विशेषगरी कोशी, तराई र वाग्मती प्रदेशका पहाडी भागमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै, लुम्बिनी प्रदेशलगायत पहाडी भूभाग र तराईका केही स्थानमा मध्यम वर्षा हुने अनुमान छ।
आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहने र बाँकी क्षेत्रमा आंशिक बदली हुने महाशाखाले जनाएको छ। कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा र एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने उल्लेख गरिएको छ।
वर्षासँगै पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्ने, ठूला तथा साना नदीनालाको सतह वृद्धि हुने र यातायात क्षेत्र प्रभावित हुन सक्ने चेतावनी दिँदै महाशाखाले सर्वसाधारणलाई सतर्क रहन तथा पूर्वतयारी गर्न आग्रह गरेको छ।
Comment