काठमाडौं । चर्चित निर्देशक दिनेश राउतको निर्देशनमा बन्न लागेको नयाँ प्रेमकथानक चलचित्र ‘कुमारी’को छायांकन सुरु भएको छ। मंगलबार बिहान ललितपुरको ऐतिहासिक बंगलामुखी मन्दिरमा शुभमुहूर्तसँगै पाटन क्षेत्रबाट चलचित्रको सुटिङ थालिएको हो। शुभमुहूर्त कार्यक्रममा प्रमुख कलाकार, निर्देशक र निर्माण टोलीको उपस्थितिले उत्साह थपेको थियो।
‘कुमारी’लाई ३५ दिनभित्र पूरा गर्ने लक्ष्य राखिएको छ। चलचित्रमा अभिनेताद्वय अविषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा रहेका छन् भने घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहारलगायत कलाकारहरूको अभिनय रहनेछ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा तयार भइरहेको यस चलचित्रलाई महेन्द्र अधिकारीले निर्माण गरिरहेका छन् भने कथा/पटकथा विकास सुवेदीले लेखेका हुन्। ‘कुमारी’मा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संगीत रहेको छ। विशेषगरी ‘कता छौ’ बोलको गीतले चलचित्रको सुरुवातमै दर्शकको मन जितेको छ। यही गीतमार्फत गायक केहर सिंह लिम्बुले पार्श्व गायनमा डेब्यु गरेका छन्।
‘आइ एम सरी’, ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘प्रसाद’, ‘प्रकाश’ र ‘पुजार सार्की’जस्ता चर्चित चलचित्र निर्देशन गरिसकेका निर्देशक राउत यसपटक फेरि प्रेमकथामा फर्किएका छन्। उनका अनुसार ‘कुमारी’ले भावनात्मक प्रेमकथा प्रस्तुत गर्नेछ।
चलचित्रको छायांकन सुसन प्रजापतिको निर्देशनमा भइरहेको छ। कार्यकारी निर्माता केदार भुसाल, प्रोडक्सन डिजाइनर आशिका शर्मा, मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहेका छन्। चलचित्रमा रिया अधिकारीले लेखेका कविता र रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट)को पोस्टर तथा पब्लिसिटी डिजाइन पनि विशेष आकर्षण बन्नेछन्।
‘कुमारी’लाई दर्शकले मन पराइदिने विश्वास निर्माण टोलीले व्यक्त गरेको छ।
Comment