अब विदेशी पर्यटकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। अध्यागमन विभागले अबदेखि ‘भिजिट भिसा’मा नेपाल प्रवेश गर्ने विदेशी नागरिकको दर्ता तथा अनुगमन विद्युतीय प्रणालीमार्फत गर्ने भएको छ।

विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउन विभागले विदेशी नागरिक दर्ता तथा अनुगमन (ट्र्याकिङ) प्रणाली लागू गर्ने निर्णय गरेको हो। विभागका महानिर्देशक रामचन्द्र तिवारीका अनुसार नयाँ प्रणालीमार्फत नेपाल आउने विदेशीको बसाइ तथा गतिविधिको अभिलेख व्यवस्थित गर्न सहज हुनेछ।

विभागले प्रणाली प्रयोग गर्ने प्रक्रिया र म्यानुअल आफ्नो वेबसाइटमा उपलब्ध गराएको छ। थप जानकारी आवश्यक परेमा विभागको सूचना प्रविधि शाखा वा कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।

विभागले ७७ वटै जिल्लाका जिल्ला अनुगमन समितिलाई पत्राचार गरी प्रणालीको प्रभावकारी कार्यान्वयनका लागि तयारी अघि बढाइसकेको छ।

नयाँ प्रणाली पहिलो चरणमा आगामी असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्रका तारे होटलहरूमा अनिवार्य रूपमा लागू गरिनेछ। दोस्रो चरणमा मङ्सिर १ गतेदेखि सबै तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल कम्पनी र मनी एक्सचेन्जमा लागू गरिनेछ।

विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सार्वजनिक तथा निजी संस्थालाई अनिवार्य रूपमा प्रणालीमा आबद्ध हुन विभागले आग्रह गरेको छ। यसअघि होटल सङ्घ नेपालसहितका सरोकारवालासँग विभागले छलफल गरिसकेको छ। सङ्घका अनुसार विगत लामो समयदेखि छलफल भए पनि प्रणाली कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।