काठमाडौं । एक्पर्ट हाइड्रो इन्भेस्टमेन्ट कम्पनीले निर्माण गर्ने ४४.५२ मेगावाट क्षमताको सानीभेरी जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक वित्तीय व्यवस्थापन सम्पन्न भएको छ ।
सो आयोजना निर्माणमा सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गर्ने भएका छन् । सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नविल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ तथा सानिमा र सिद्धार्थ बैंकले समान १–१ अर्ब रुपैयाँ लगानी गर्ने छन् ।
सोमबार सम्पन्न सम्झौतामा एक्पर्ट हाइड्रो इन्भेस्टमेन्टका प्रबन्ध निर्देशक सन्तोषराज नेपाल र सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले हस्ताक्षर गरेका थिए ।
आयोजनाको कुल लागत ९ अर्ब ६० करोड रुपैयाँ रहनेछ । जसमा २५ प्रतिशत स्वपुँजी र ७५ प्रतिशत ऋणबाट जुटाइने जानकारी प्रबन्ध निर्देशक नेपालले दिए ।
रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–७ र १४ मा निर्माण हुने आयोजनालाई ४२ महिनाभित्र सम्पन्न गर्ने योजना छ । नदी प्रवाही प्रकृतिको यस आयोजनाबाट वार्षिक २८३.३७ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।
आयोजनाबाट उत्पादित विद्युत् बाफीकोट सबस्टेशनमा जोडिनेछ । यसअघि आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच २०८० असार २७ गते विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको छ ।
Comment