एजेन्सी । अफगानिस्तानको पूर्वी क्षेत्रमा आएको भूकम्पमा २० भन्दा बढी मानिसको मृत्यु भएको छ । भूकम्पबाट नंगरहार र कुनार प्रान्त सबैभन्दा बढी प्रभावित भएको बीबीसीले जनाएको छ ।
अफगान अधिकारीहरूको अनुसार ११५ भन्दा बढी घाइतेलाई अस्पतालमा भर्ना गरिएको छ ।
बीबीसीको पश्तो सेवाका अनुसार, तालिबान सरकारले यस भूकम्पमा सयौँ मानिसको मृत्यु हुन सक्ने आशंका जनाएको छ ।
भूकम्पबाट सबैभन्दा बढी क्षति कुनार प्रान्तमा भएको बताइएको छ । जसको करिब ९० प्रतिशत भूभाग पहाडी छ।
भूकम्प प्रभावित क्षेत्रमा जाने सडकहरू धेरै साँघुरा छन् र तीमध्ये धेरै सडक पहिरोका कारण बन्द भएका छन्।
केही क्षेत्रमा मोबाइल नेटवर्क समेत काम नगरेको बताइएको छ ।
कुनार प्रान्तका प्रहरी प्रमुखका अनुसार बाढी र भूकम्पका झट्काबाट गएको पहिरोका कारण त्यहाँका सडकहरू बन्द भएका छन् ।
तालिबान अधिकारीहरूले उनीहरूसँग सीमित स्रोतसाधन मात्र रहेको र प्रभावित क्षेत्रमा पुग्न अन्तर्राष्ट्रिय संस्थाहरूलाई सहयोग गर्न तथा हेलिकप्टर उपलब्ध गराउन आग्रह गरेका छन् ।
सन् २०२२ को भूकम्पका बेला पनि यस्तै कठिनाइ देखिएको थियो जसमा करिब १ हजार मानिसको मृत्यु भएको थियो ।
Comment