काठमाडौं । नेपालभर आर्थिक वर्ष २०८२/०८३ को साउन महिनामा दर्ता भएका अपराधमध्ये सबैभन्दा धेरै बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा मात्र १,६०३ वटा बैंकिङ कसुरका मुद्दा दर्ता भएका छन्, जुन कुल अपराधको २८.२५ प्रतिशत हिस्सा हो। सोही अवधिमा देशभर ५,७४० वटा अपराधका मुद्दा दर्ता भएका छन्।
बैंकिङ कसुरपछि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका ८७५ मुद्दा (१५.२१%) रहेका छन् भने आत्महत्यासम्बन्धी ५५४ (९.७६%), लागुऔषधका ४६० (८.०९%), चोरीका ३७९ (६.६०%) र ठगीका २६२ (४.५६%) मुद्दा दर्ता भएका छन्। यस्तै, जबरजस्ती करणीका २४२, सवारी दुर्घटनाका १३०, ज्यान मार्ने उद्योगका १०२ र बहुविवाहका ६० मुद्दा पनि प्रहरीमा दर्ता भएका छन्।
प्रदेशगत विवरणअनुसार साउन महिनामा सबैभन्दा बढी अपराध काठमाडौं उपत्यकामा १,६११ मुद्दा दर्ता भएका छन्। उपत्यका बाहेक बागमती प्रदेशमा ५३६, मधेश प्रदेशमा १,०७२, लुम्बिनी प्रदेशमा ६८५, कोशी प्रदेशमा ९१८, गण्डकी प्रदेशमा ४१३, सुदूरपश्चिम प्रदेशमा ३३२ र सबैभन्दा कम कर्णाली प्रदेशमा १७३ मुद्दा दर्ता भएका छन्।
प्रहरीका अनुसार साउन महिनामा दर्ता भएका अपराधमध्ये ज्यान सम्बन्धी ७२३, आत्महत्या सम्बन्धी ५५४, चोरी सम्बन्धी ३७९, संगठित/आर्थिक अपराध सम्बन्धी ७८८, सामाजिक अपराध सम्बन्धी ९७१, महिला तथा बालबालिकाविरुद्ध ४२८, सवारी सम्बन्धी १८१ र विविध १,७१६ मुद्दा रहेका छन्। नेपाल प्रहरीले साउन महिनामा दर्ता भएका अपराध असार महिनाको तुलनामा ६.५६ प्रतिशतले घटेको समेत जनाएको छ।
Comment