काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन महिनामा झन्डै साढे तीन अर्ब रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा ठूला जीवन बीमा कम्पनीहरुले कुल १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन्। यसमा पुरानै बीमा नविकरणबाट संकलित शुल्क १६ अर्ब ३८ करोड रुपैयाँ रहेको छ भने नयाँ व्यवसायको हिस्सा करिब १६.६५ प्रतिशत, अर्थात् ३ अर्ब २७ करोड २४ लाख रुपैयाँ रहेको छ।
नयाँ व्यवसाय भित्र्याउन नेपाल लाइफ अग्रस्थानमा रह्यो। कम्पनीले साउनमा १ अर्ब ३ करोड ९० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा रहेको नेशनल लाइफले ४२ करोड ३७ लाख, तेस्रो स्थानमा सिटिजन लाइफले २५ करोड १ लाख र हिमालयन लाइफले २३ करोड ८० लाख रुपैयाँ बराबरको प्रथम बीमा शुल्क आर्जन गरेको छ।
यस्तै, सूर्यज्योति लाइफले २२ करोड ७८ लाख, एलआइसी नेपाल २१ करोड ३५ लाख, आइएमई लाइफ १५ करोड २७ लाख, एशियन लाइफ १५ करोड १६ लाख, रिलायबल नेपाल १४ करोड ४७ लाख, मेट लाइफ १२ करोड ३९ लाख, सानिमा रिलायन्स १० करोड ६६ लाख र प्रभू महालक्ष्मी १० करोड ३८ लाख रुपैयाँ बराबरको नयाँ व्यवसाय भित्र्याएका छन्। राष्ट्रिय जीवन बीमा कम्पनी र सन नेपाल लाइफले क्रमशः ४ करोड १५ लाख र ४ करोड ४९ लाख रुपैयाँको नयाँ व्यवसाय आर्जन गरेका छन्।
यसरी, जीवन बीमा क्षेत्रले नयाँ व्यवसाय विस्तारमा महत्वपूर्ण प्रगति गरेको देखिएको छ, जसले कम्पनीहरुको बजार हिस्सामा वृद्धि र बीमितको सुरक्षा सुनिश्चित गर्न सहयोग पुर्याएको छ।
Comment