काठमाडौं । बुङ्गल हाइड्रो लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) आजदेखि सर्वसाधारण लगानीकर्ताले भर्न सक्ने भएका छन्।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको थियो। अब भने दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरिएको हो।
कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँमध्ये ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये स्थानीयवासी, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष तथा कर्मचारीका लागि छुट्याइएका शेयर बाँडफाँड भइसकेका छन्।
सर्वसाधारणका लागि निष्काशन गरिएको शेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका छन्। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आईपीओ छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म आवेदन दिन सकिनेछ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखामार्फत आवेदन दिन सक्नेछन्। साथै, मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गरिएको रेटिङमा केयर रेटिङ नेपाल ले कम्पनीलाई केयर एनपी सिंगल बी इश्युअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको देखाउँछ। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।
बुङ्गल हाइड्रो लिमिटेडले १०.७० मेगावाट क्षमताको माथिल्लो सानिगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। आयोजनाको कुल लागत ३ अर्ब २ करोड ३६ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत करिब २८ करोड २५ लाख रुपैयाँ पर्छ। आयोजनाको विद्युत अनुमतिपत्रमा अझै २६ वर्ष १० महिना बाँकी छ। साधारण लगानी फिर्ता हुने अवधि करिब ९.८५ वर्ष र डिस्काउण्टेड लगानी फिर्ता हुने अवधि २२.२९ वर्ष रहेको कम्पनीले जनाएको छ।
Comment