काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आजबाट आफ्नो नवौँ वर्षमा प्रवेश गरेको छ। कम्पनीले २०७४ साल भदौ १५ गतेदेखि जीवन बीमा सेवा सञ्चालन सुरु गरेको थियो र आठ वर्षको गौरवमय यात्रा पूरा गर्दै यस वर्ष आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका माध्यमबाट मनाउने जनाएको छ। नवौँ वर्षको अवसरमा कम्पनीले नियामक निकाय, संस्थापक, अभिकर्ता, बीमित, पत्रकार र कर्मचारीसमेत सबैलाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा निरन्तर उत्कृष्ट बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
गत आर्थिक वर्षमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले कुल ५ अर्ब ३९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २८.२३ प्रतिशतले बढी हो। खुद बीमाशुल्कमा पनि ३१.८२ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ। जीवन बीमा कोषमा ३६ प्रतिशतभन्दा बढी वृद्धि हुँदै १३ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ भने चुक्ता पुँजी ५ अर्ब १९ करोड रुपैयाँ रहेको कम्पनीले समीक्षा वर्षमा ५७ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४७.२५ प्रतिशतले बढेको हो। यसैगरी, कम्पनीको शेयर प्रिमियममा १ अर्ब ३९ करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ७८ करोड ९९ लाख रुपैयाँ रहेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले छोटो समयमै जीवन बीमा क्षेत्रमा विश्वसनीय ब्रान्डका रूपमा आफूलाई स्थापित गर्न सफल भएको दाबी गरेको छ।

Comment