विधान महाधिवेशनमा एकता नभए हिसाब–किताब हुन्छ : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आसन्न विधान महाधिवेशनलाई एकताको अधिवेशन बनाउनु पर्नेमा जोड दिएका छन्। बागमती प्रदेशका महाधिवेशन प्रतिनिधिहरूसँग बुधबार बालुवाटारमा छलफल गर्दै अध्यक्ष ओलीले भदौ २० देखि २२ गतेसम्म हुने महाधिवेशनमा एकताको सन्देश दिन आग्रह गरे। उनले चेतावनीका स्वरमा भने, “विधान महाधिवेशन एकताको अधिवेशन हुन्छ, अन्यथा त्यही महाधिवेशनमा हिसाब–किताब गरिन्छ।”

ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई लक्षित गर्दै एमालेभित्र आफूलाई चुनौती दिने एक मात्र पात्र उनी भएको दाबी गरे। उनले भने, “विद्याजीबाहेक कसैको दम छैन, उहाँले छोडे सबै कुरा मिल्छ।” भण्डारीका नाममा पार्टीभित्र हुने गतिविधिप्रति आक्रोश व्यक्त गर्दै उनले फाउन्डेसन र तस्बिरको प्रयोगलाई ‘धन्दा’ को संज्ञा दिए। उनका अनुसार मदन भण्डारी फाउन्डेसन कुनै परिवारको सम्पत्ति होइन, र विचारलाई परिवारको ढाँचामा बन्धक बनाइनु हुँदैन।

पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति पनि ओलीको गहिरो असन्तोष देखिएको छ। उनले पोखरेलले बाटो बिराएको टिप्पणी गर्दै, “अभागीलाई खाने बेलामा रिस उठ्छ भनेको यही हो,” भनेका छन्। पछिल्लो समय पोखरेल पूर्वराष्ट्रपति भण्डारीको पक्षमा उभिएकोप्रति ओली असन्तुष्ट देखिएका छन्। तर कोसी प्रदेशमा संस्थापनइतर धारका नेता विनोद ढकालप्रति भने ओलीको बोली सौम्य देखियो। उनले ढकाललाई नवौँ महाधिवेशनमा आफूलाई सहयोग गर्ने प्रमुख पात्रको रूपमा प्रस्तुत गरे।

छलफलमा ओलीले ४८ बुँदामा आफ्नो धारणा सार्वजनिक गरेका छन्, जसमा पार्टीको इतिहास, भित्रि विवाद, विचारधाराको रक्षा, सदस्यता विवाद, भण्डारीप्रति असन्तोष, जबजको मूल्यांकन, तथा राष्ट्रिय राजनीतिसँग जोडिएका प्रसंगहरू समेटिएका छन्। उनले गणतन्त्र, राष्ट्रियता, पार्टी एकता र आन्दोलनको आवश्यकता जस्ता विषयमा स्पष्ट धारणा राख्दै पार्टी अनुशासनको पालनामा जोड दिए। उनले रवि लामिछाने र राजेन्द्र लिङ्देनलाई पनि राजनीतिक रूपमा आफूले ‘बनाएको’ दाबी गर्दै, नेतृत्व विकासमा आफ्नो भूमिका स्मरण गराए।

अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्तिले एमालेभित्र चर्किएको गुटगत ध्रुवीकरण र नेतृत्वप्रतिको असन्तोष सतहमा ल्याएको छ। विधान महाधिवेशनलाई उनले पार्टीभित्र शक्ति सन्तुलन पुनःनिर्धारण गर्ने अवसरका रूपमा हेरिरहेको प्रष्ट हुन्छ। उनका अनुसार यो महाधिवेशनले विचार, नेतृत्व र संगठनको स्पष्ट दिशानिर्देश दिनु पर्नेछ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।