मुक्तिनाथ विकास बैंकको धुम्बाराही शाखा कार्यालयको उद्घाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नं.– ४, धुम्बाराही (चिलिमे टावरमा रहेको) मा मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय उद्घाटन गरिएकाे छ ।

वित्तीय सेवाहरुको विविधिकरण गरी नेपाली वित्तीय बजारमा अलग्गै पहिचान बनाएको, मुक्तिनाथ विकास बैंकले जमलमा रहेको शाखा कार्यालयलाई नयाँ स्थान, काठमाडौं महानगरपालिका वडा नं.– ४ मा रहेको चिलिमे टावरमा स्थानान्तरण गरी औपचारिक रुपमा वित्तीय सेवाको शुभारम्भ गरेको हाे ।

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले उक्त नयाँ शाखाकाे उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा आफ्नो मन्तब्य राख्दै पौडेलले बैंकले कृषि क्षेत्रमा गरेको लगानी र डिजिटल बैंकिङ्ग सेवाको विस्तारको प्रशंसा गर्दै जोखिम व्यवस्थापनमा पनि त्यत्तिकै चनाखो हुन सुझाव दिए ।

साथै, बैंकले हाल गरी रहेकै प्रगतिलाई निरन्तरता दिंदै यो शाखाबाट पनि उत्कृष्ट सेवा प्रदान गर्न शुभकामना व्यक्त गरे ।

यस्तै बैंकका सञ्चालक उमेश आचार्यले स्वागत, प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेलले बैंकको अवस्था र आगामी योजना तथा निवर्तमान अध्यक्ष तथा संस्थापक प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले नेपालको अर्थतन्त्र तथा वित्तीय क्षेत्रको सबलीकरणको लागि बैंक तथा नियमक निकायले अख्तियार गर्नु पर्ने रणनीतिहरुको बारेमा मन्तब्य राखेका छन् ।

कार्यक्रमको सभापतित्व बैंकको सञ्चालक समितिको अध्यक्ष खिम प्रकाश मल्लले गरेका थिए । समापन तथा धन्यवाद मन्तब्य राख्दै मल्लले बैंकको सेवाको गुणस्तरमा अझै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।

नयाँ र आधुनिक भवनबाट पूर्ण वित्तीय सेवा प्रदान गर्न पाउँदा सेवाग्राहीहरुले उत्कृष्ट ग्राहक सेवाको महशुस गर्नु हुने विश्वास बैंकले लिएको छ ।

एक विशेष समारोहको आयोजना गरी गरिएको उक्त कार्यक्रममा बैंकको वर्तमान तथा पूर्व सञ्चालकहरु, संस्थापक तथा सर्वसाधारण सेयरधनीहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, ग्राहक तथा स्थानीय नागरिकहरूको उपस्थिति रहेको थियो ।

सेवाग्राहीहरुको आवश्यकतालाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको उक्त नयाँ कार्यालय रिङ्गरोडसंग जोडिएको र पर्याप्त पार्किङ्ग सुविधा रहेकोले सबैको पहूँचमा सहजता हुनेछ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।