आज ऋषिपञ्चमी, सप्तर्षिको पूजा गरी मनाइँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। भाद्र शुक्ल पञ्चमी, अर्थात् ऋषिपञ्चमी पर्व। सनातन धर्मावलम्बी महिला सप्तर्षिको पूजा-अर्चना गरी मनाउँदैछन्।

सबेरै उठी पायक पर्ने नदी, पवित्र तलाउ आदि स्थानमा गई विधिपूर्वक माटो, गोबर, कुश, तिल, अपामार्ग (दतिवन) प्रयोग गरी स्नान गर्ने परम्परा छ।

महिलाहरूले दतिवनका ३६५ डाँठले दाँत माझ्ने र ३६५ वटा पातले नुहाउँछन्। ३६५ पटक स्नान गर्नुपर्ने मान्यताका आधारमा महिला चाल्नोबाट पानी खन्याई नुहाउने गर्छन्।

यसपछि सप्तऋषिको पूजा गर्ने परम्परा छ। कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ हुन्। यस्तै ऋषि वशिष्ठकी पत्नी अरुन्धतीको पनि पूजा गरिन्छ।

सप्तर्षिको पूजा गर्दा मौसमी फूललगायतका वस्तु ३६५ को संख्यामा चढाउने विधान छ। विधिपूर्व सप्तर्षिको पूजा गर्नाले रजस्वला भएका वेलाका दोष नाश हुन्छन् भन्ने मान्यता छ। ऋषिपञ्चमी व्रत महिलाले मात्र गर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए।

ऋषिपञ्चमी व्रतकथामा भने यो व्रत महिलाले मात्र नभई पुरुषले गर्नुपर्ने बताइएको छ। पतिपत्नी दुवै मिलेर सात वर्षसम्म लगातार व्रत बसी उद्यापन गर्ने विधान छ।

पूजा सकी महिला कर्कलाको तरकारीसँग भोजन गर्छन्। ऋषिपञ्चमी व्रतकथामा पनि आज विशेषगरी नजोती र नखनी फलेका वस्तु (कन्दमूल) खाने चलन छ।

यो दिन विशेषगरी काठमाडौँको टेकुस्थित ऋषेश्वर, भक्तपुरको दत्तात्रेयलगायत मन्दिरमा श्रद्धालुको घुइँचो लाग्छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।