यी भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन अनुरोध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जनाएको छ । साथै बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव बढेको छ ।

विभागका अनुसार अहिले कोशी, मधेस र बागमती प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराईका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर साधारणतया बदली रहने छ । देशका पहाडी भूभागका धेरै स्थान र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभाग साथै लुम्बिनी र कोशी प्रदेशको तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।