काठमाडौं। स्वास्थ्य बीमा बोर्डले समयमा बीमा नवीकरण नगर्ने बीमितहरूलाई अब चर्को विलम्ब शुल्क लिने निर्णय गरेको छ। बोर्डले बुधबार सार्वजनिक सूचना जारी गर्दै आगामी असोज ३१ गतेसम्म अनिवार्य रूपमा बीमा नवीकरण गर्न आग्रह गरेको हो। निर्धारित समयभित्र नवीकरण नगरेका बीमितहरूले क्रमशः बढी शुल्क तिर्नु पर्नेछ।
सूचनाका अनुसार, असोज मसान्तसम्म बीमा नवीकरण गरेमा कुनै अतिरिक्त शुल्क लाग्ने छैन। तर बीमाको म्याद सकिएको तीन महिनाभित्र नवीकरण गरेमा १० प्रतिशत, छ महिनाभित्र गरेमा ३० प्रतिशत, र एक वर्षभित्र गरेमा ५० प्रतिशत थप शुल्क लाग्नेछ। त्यसपछि नवीकरण गर्दा १०० प्रतिशत (दुुुगुना) शुल्क तिर्नुपर्नेछ।
यदि दुई वर्षसम्म पनि बीमा नवीकरण नगरिएमा योगदान रकमको तीन गुणा, र तीन वर्षभन्दा बढी ढिलाइ गरेमा चार गुणासम्म शुल्क लाग्ने बोर्डले स्पष्ट पारेको छ।
बोर्डले विगतमा बीमा गरेका तर नवीकरण नगरेका परिवारलाई एकपटकका लागि थप शुल्क मिनाहा गरिएको जनाउँदै, कात्तिक ३१ गतेपछि भने अनिवार्य रूपमा विलम्ब शुल्क तिर्नुपर्ने उल्लेख गरेको छ।
स्वास्थ्य बीमा प्रणालीलाई थप व्यवस्थित र दिगो बनाउन तथा बीमितहरूको नियमितता कायम राख्न बोर्डले यस्तो कडाइ गरेको जनाएको छ। बीमितलाई समयमा नवीकरण गरी अनावश्यक आर्थिक भारबाट जोगिन आग्रह गरिएको छ।

Comment