काठमाडौं । इसाई धर्म (क्रिश्चियन) प्रचार गरेको आरोपमा एक जना अमेरिकी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्ने अमेरिकी नागरिकमा डानियल एस कोरनी रहेको अध्यागनम विभागले जनाएको छ ।
सोमबार ललितपुरको लगनखेल बसपार्कमा बाइबल पढ्दै प्रचार गरिरहेको भिडियो सार्वजनिक भएपछि उनलाई नियन्त्रणमा लिइएको विभागले जनाएको छ ।
सन् २०१५ देखि नेपाल आउजाउ गरिरहेका कोरनी पछिल्ला वर्षमा भैँसेपाटीमा बस्दै आएका थिए । उनलाई अनुसन्धानपछि नेपाल फर्किन नपाउने गरी डिपोर्ट गर्न सकिनेबारे विभागमा छलफल भइरहेको छ ।
विभागका प्रवक्ता टिकाराम भट्टराईका अनुसार उनी पर्यटक भिसामा नेपाल प्रवेश गरे पनि पछि व्यवसायिक, अध्ययन लगायत विभिन्न भिसामा बसेका थिए । भैंसेपाटीमा भवन भाडामा लिएर बसेका उनले सोहो भवनको बाँकी तलमा बालगृह सञ्चालन गरिरहेको र मुगुलगायत जिल्लाका २० बालबालिका राखेका छन् ।
उनले बालबालिकामार्फत बाइबल वितरण, पर्चा–पोस्टर टाँस्नेजस्ता गतिविधि गरेको प्रमाण भेटिएको विभागको भनाइ छ । यो काममा अरु दुई अमेरिकी पनि संलग्न रहेको विभागको दाबी छ।
Comment