थुनामुक्तको माग गर्दै रविले दिए उच्च अदालतमा निवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिगो बमोजिम धरौटी राखेर थुनामुक्त गराउन माग गर्दै पुनः उच्च अदालतमा निवेदन दिएका छन्।

सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गरे पनि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उक्त आदेशलाई सर्वोच्च अदालतले पनि जेठ ९ गते सदर गरेपछि उनी हाल थुनामै छन्।

सर्वोच्च अदालतको आदेशपछि लामिछानेले रुपन्देही जिल्ला अदालतमा बिगो बमोजिम धरौटी बुझाएर रिहा हुन माग गरेका थिए। उनले अदालतमा आफ्नै पहलमा दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बिगो बैंक ग्यारेन्टीसहित बुझाउने प्रस्ताव गरेका थिए। तर जिल्ला अदालतले अभियोग खण्डित हुने गरी नयाँ प्रमाण पेश नभएको, प्रतिवादीको भागको बिगो स्पष्ट नखेलेको, र सर्वोच्च अदालतको आदेशलाई उल्ट्याउन नसकिने भन्दै थुनामुक्तिको माग अस्वीकार गरेको थियो।

जिल्ला अदालतको उक्त आदेशविरुद्ध लामिछानेले सोमबार पुनः उच्च अदालतमा निवेदन दर्ता गराएका छन्। बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार, लामिछानेको निवेदनमाथि सुनुवाइका लागि आगामी बुधबार (भदौ ११) पेसी तोकिएको छ।

अब उच्च अदालतको निर्णयपछि लामिछानेको थुनामुक्तिको माग टुंगो लाग्ने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।