काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच सोमबार बिहान ललितपुरको हरिसिद्धिमा भेटवार्ता भएको छ। प्रचण्ड विप्लवको निजी निवासमा पुगेर भेट गरेपछि विप्लवले उनलाई फूल दिएर स्वागत गरेका थिए।
दुई नेताबीचको यो भेट पार्टी एकताको सम्भावनालाई लिएर महत्वपूर्ण मानिएको छ। माओवादी केन्द्रले यसअघि स्थायी कमिटी बैठकमार्फत नेकपा (विप्लव)सँग पार्टी एकता गर्ने निर्णय गरिसकेको छ, यद्यपि औपचारिक कार्यदल भने अझै गठन गरिएको छैन।
आजको भेटमा पार्टी एकतासम्बन्धी विषयहरूका साथै पछिल्लो समय देखिएको राजनीतिक गतिरोधबारे पनि गम्भीर छलफल भएको बताइएको छ। स्रोतका अनुसार, दुवै नेताले बिस्तारै एकताको प्रक्रिया अघि बढाउने तयारीमा रहेको संकेत दिएका छन्।
यता नेकपा (विप्लव)ले भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकमा पार्टी एकताको सम्बन्धमा ठोस निर्णय लिने तयारी गरिरहेको जनाएको छ।
राजनीतिक स्थायित्व र वाम शक्तिहरूबीचको एकताको सन्देश दिने उद्देश्यसहित भएको आजको भेटलाई विश्लेषकहरूले सकारात्मक संकेतका रूपमा हेरेका छन्। प्रचण्ड र विप्लव दुवै पूर्व माओवादी आन्दोलनका प्रमुख पात्रहरू भएकाले उनीहरूबीचको सहकार्य आगामी दिनमा वाम गठबन्धनको स्वरूप पुनः परिभाषित गर्न सक्ने अनुमान गरिएको छ।
Comment