काठमाडौँ । निर्देशक खिल बहादुर गुरुङको निर्देशनमा तयार भएको बहुप्रतीक्षित फिल्म ‘रिमै’को ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले नेपाली समाजको गाउँले परिवेश, प्रेम, संघर्ष र सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्दै दर्शकमाझ उत्साह जगाएको छ।
फिल्मको ट्रेलरमा दयाहाङ राईलाई ग्रामीण पृष्ठभूमिमा देखाइएको छ, जहाँ उनी आफ्नो प्रेम, परिवार र सामाजिक द्वन्द्वसँग जुधिरहेको कथावस्तु प्रस्टिन्छ। उनी र रिश्मा गुरुङबीचको केमिस्ट्री प्रभावशाली देखिएको छ भने अर्पण थापा र गौमाया गुरुङको भूमिकाले कथालाई थप गहिराइ दिएको छ। ट्रेलरले परम्परागत मूल्य र आधुनिक सोचबीचको टकरावलाई उजागर गर्ने संकेतसमेत दिएको छ।
फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रा.लि.को प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो। फिल्ममा दयाहाङ, रिश्मा, अर्पण र गौमायासँगै कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ तथा प्रश्ना राना मगरको समेत अभिनय रहेको छ।
फिल्मको पटकथा कवि तथा निर्देशक उपेन्द्र सुब्बाले लेखेका हुन् भने छायांकन शैलेन्द्र ध्वज कार्कीले गरेका हुन्। सम्पादनमा मित्र डि गुरुङ, संगीतमा दीपक शर्मा र थानेश्वर गौतम छन्। फिल्ममा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर रहेका छन्।
फिल्मका कार्यकारी निर्माता वीरवल घले हुन् भने टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता, तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह-निर्माताका रूपमा रहेका छन्।
सिनेमाको ट्रेलर सार्वजनिक भएसँगै दर्शक र समीक्षकहरूले यसको वास्तविकता नजिकको प्रस्तुति, सम्वेदनशील विषयवस्तु र अभिनयको गहिराइप्रति प्रशंसा व्यक्त गरेका छन्।
Comment