काठमाडौँ। पछिल्लो समय नेपालका बैंकहरूले ब्याजदर घटाउँदै सस्तो सेयर कर्जा उपलब्ध गराउन थालेका छन्, जसको प्रत्यक्ष लाभ सेयर बजारमा देखिन थालेको छ। बैंकिङ प्रणालीमा तरलता पर्याप्त भएपछि बैंकहरू कर्जा विस्तारमा प्रतिस्पर्धामा उत्रिएका छन्। कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ७६ प्रतिशतमा झरेपछि बैंकहरूले ब्याजदर घटाएर सेयर कर्जालाई प्रोत्साहन गर्न थालेका हुन्।
वर्तमानमा अधिकांश बैंकहरूले ५ देखि ९ प्रतिशतसम्मको ब्याजदरमा सेयर कर्जा दिइरहेका छन्। कृषि विकास बैंकले ५.८४ प्रतिशतदेखि ८.३४ प्रतिशतसम्म, एभरेष्ट बैंकले ६.२७ देखि ८.२७ प्रतिशतसम्म, राष्ट्रिय वाणिज्य बैंकले ६.३ देखि ६.८ प्रतिशतसम्म सेयर कर्जा दिइरहेका छन्। यस्तै, सिद्धार्थ बैंकले ६.३४ देखि ९.५९, सिटिजन्स बैंकले ६.३५ देखि ९.३५, ग्लोबल आइएमई बैंकले ६.७८ देखि ८.७८, प्राइम बैंकले ६.६२ देखि ११.६२ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ६.७८ देखि ८.७८ प्रतिशत ब्याजदरमा सेयर कर्जा उपलब्ध गराइरहेका छन्।
ब्याजदर सस्तो भएपछि लगानीकर्ताहरू कर्जा लिएर सेयर बजारमा प्रवेश गर्न उत्साहित देखिएका छन्। गत आर्थिक वर्षको ११ महिनामा मात्र सेयर धितो कर्जा ३५ अर्ब रुपैयाँभन्दा बढीले वृद्धि भएको छ। कर्जा माग अझै बढ्ने संकेत देखिएको छ, जसले सेयर बजारमा लगानी प्रवाह बढाउने जानकारहरूको भनाइ छ। बैंकहरूले औपचारिक स्किम सार्वजनिक नगरे पनि स्थिर ब्याजदरमा आक्रामक प्रस्ताव अघि सारेका छन्।
नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाको जोखिम भार घटाएर १०० प्रतिशतमा झारेको छ। व्यक्तिगत सेयर कर्जाको सीमा २५ करोड रुपैयाँसम्म पुर्याइएको छ भने संस्थागत लगानीकर्ताका लागि कुनै सीमा नराखिएको व्यवस्था गरिएको छ। यसले बैंकहरूलाई सेयर बजारतर्फ ऋण प्रवाह बढाउन सहज बनाएको छ।
बैंकहरूको आधार दर घट्दै जाँदा ब्याजदर अझै सस्तो बन्दै गएको छ। ब्याजदर एकल अंकमै सीमित हुँदा लगानीकर्तालाई थप सहज भएको छ। सस्तो ब्याजदरको सेयर कर्जाले बजारमा नयाँ लगानीकर्ताको प्रवेशसमेत बढाएको छ, जसले समग्र सेयर बजारमा सकारात्मक गति ल्याएको विश्लेषकहरू बताउँछन्।

Comment