काठमाडौं । आगामी हरितालिका तिज पर्वको अवसरमा लाखौं भक्तजनको उपस्थितिलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रलाई पूर्णरूपमा सवारी निषेधित क्षेत्र घोषणा गरेको छ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा कोषका सदस्यसचिव सुवासचन्द्र जोशीले दर्शनार्थीको सहजता र सुरक्षालाई प्राथमिकता दिँदै ट्राफिक व्यवस्थापन, पार्किङ र भीड नियन्त्रणका विशेष योजना सार्वजनिक गरे।
जोशीका अनुसार उमाकुण्ड, दक्षिणामूर्ति, महास्नानघर पश्चिम, भूवनेश्वरी–गौशाला र वनकाली क्षेत्रको दर्शन मार्गमा साधारण सवारी साधन पूर्णरूपमा निषेध गरिनेछ। यद्यपि, दमकल, एम्बुलेन्स र शववाहनलाई भने छुट दिइनेछ।
भीड व्यवस्थापनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरीका साथै स्वयंसेवक, स्काउट र रेडक्रस टोली खटाइनेछ।
तीजको दिन भक्तजनलाई गुठीटोल, उमाकुण्ड, दक्षिणमुखी, रसगुलोचोक, वासुकी हुँदै उत्तर ढोकाबाट मन्दिर प्रवेश गराइनेछ भने दक्षिण ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ। साथै, मृगस्थली–जयवागेश्वरी–पशुपति मार्ग हुँदै दक्षिण प्रवेश र पश्चिम निर्गमनको विकल्प पनि व्यवस्था गरिएको छ।
कोषले ज्येष्ठ नागरिक, अपांगता भएका महिला, अशक्त तथा बालबालिकालाई विशेष प्राथमिकतामा राखेर सहज दर्शन सुनिश्चित गर्ने योजना बनाएको छ।
Comment