करदाताको संख्या ७० लाख पुग्यो, एकै वर्ष थपिए पौने ८ लाख

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपालमा करदाताको संख्या ७० लाख नजिक पुगेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को तथ्यांकअनुसार असार मसान्तसम्म देशभर कुल ६९ लाख ९९ हजार ३५० करदाता रहेका छन्। तीमध्ये २० लाख ६० हजार ७५८ व्यवसायिक स्थायी लेखा नम्बर भएका छन् भने ४९ लाख २ हजार ७२२ व्यक्तिगत करदाता रहेका छन्। त्यस्तै, कर कट्टी गर्ने निकायका लागि प्रयोग हुने डब्लु प्यान लिनेको संख्या ३५ हजार ८७० पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ हजार ५४२ ले बढी हो।

तथ्यांकअनुसार व्यक्तिगत करदाताको संख्या एक वर्षमा ६ लाख ५४ हजार १८ ले वृद्धि भएको छ। अघिल्लो वर्ष ४२ लाख ४८ हजार ७०४ व्यक्तिगत करदाता रहेका थिए। यसैगरी, व्यवसायिक करदाताको संख्या पनि २ लाख ८ हजार ४३० ले बढेको छ। आर्थिक वर्ष २०८०/८१ मा व्यवसायिक करदाता १९ लाख ४४ हजार १०१ रहेका थिए।

हालसम्म भ्याटमा दर्ता भएका करदाता ३ लाख ५१ हजार पुगेका छन् भने अन्तःशुल्कमा दर्ता भएका करदाता १ लाख २५ हजार छन्। आर्थिक वर्ष २०८१/८२ मा सरकारले कुल १२ खर्ब ८४ अर्ब रुपैयाँ बराबरको कर राजस्व संकलन गरेको छ। यसमा भन्सारबाट ३ खर्ब ७ अर्ब, मूल्य अभिवृद्धि करबाट ३ खर्ब ८६ अर्ब, अन्तःशुल्कबाट १ खर्ब ९४ अर्ब र शिक्षा सेवा शुल्कबाट ४ अर्ब रुपैयाँ संकलन गरिएको हो।

सरकारले गत वर्ष जम्मा १४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ, जसमा १ खर्ब ३५ अर्ब रुपैयाँ गैरकर राजस्वबाट आएको हो। करदाताको संख्या तथा कर राजस्व संकलनमा देखिएको यो सकारात्मक वृद्धिले मुलुकको राजस्व प्रणाली बलियो हुँदै गएको संकेत गरेको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।