पौने २७ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १५.४ महिनाको आयात धान्नसक्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ । नेपालको विदेशी मुद्रा (विदेशी विनिमय) सञ्चिति पौने २७ खर्ब पुगेको छ । गत आर्थिक वर्षमा नेपाली रुपैयाँमा विदेशी विनियम सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति गत आर्थिक वर्षमा ३१.२ प्रतिशतले वृद्धि भएको हो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ । २०८१ असार मसान्तमा अमेरीकी डलरमा विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वद्धि भई २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ कायम भएको छ । २०८२ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत छ ।

विदेशी विनिमय सञ्चितमा उच्च वृद्धि हुँदा गत आर्थिक वर्षमा आयात बढेपनि सञ्चिति पर्याप्तता सूचक बढेर १५.४ महिनाको बस्तु तथासेवा आयात धान्नसक्ने अवस्थामा पुगेको छ ।

‘आर्थिक वर्ष २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८.२ महिनाको वस्तु आयात र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ’ राष्ट्र बैंकले भनेको छ ।

२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ४३.८ प्रतिशत, कुल आयातसँगको अनुपात १२८.१ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ४३.८ प्रतिशत छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।