रौतहट । रौतहटको गौर–सिरसिया सडकखण्ड नजिक सुटकेसभित्र भेटिएको महिलाको शवको सनाखत भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक ३० वर्षीया रुबी देवी साहको शव शनिबार राति फेला परेको हो। माधव नारायण नगरपालिका–६ माधोपुरकी साह सरदमुकाम गौर–२ महादेव पट्टीमा डेरा गरी बस्दै आएकी थिइन्।
शुक्रबार साँझ साह ब्यूटी पार्लर जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। तर, बेलुका ६ बजेपछि परिवारले सम्पर्क गर्न खोज्दा फोन नलागेपछि परिवारले प्रहरीलाई जानकारी गराउन नसकेको बताइएको छ।
शनिबार राति करिब १० बजे गौर–सिरसिया सडकखण्डस्थित मुडवालाबा मोड नजिक सडक पेटीमा डोरीले बाँधिएको सुटकेस भेटिएको थियो। त्यसपछि प्रहरीलाई खबर गरिएको र आइतबार बिहान जिल्ला प्रहरी कार्यलय रौतहटको अनुसन्धान टोलीले सुटकेस खोल्दा साहको शव भेटिएको हो।
घटनास्थलमै सनाखत गर्न पुगेकी आमाले हराएकी छोरीकै शव रहेको पुष्टि गरेकी थिइन्। अनुसन्धानमा खटिएका प्रहरी निरीक्षक रुद्र कडेलका अनुसार प्रारम्भिक रूपमा महिलाको हत्या गरेर सुटकेसभित्र शव फालिएको देखिन्छ।
उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको र चाँडै सत्यतथ्य सार्वजनिक गरिनेछ।
Comment