काठमाडौं । भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल आज (आइतबार) बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ।
भुटानको चाङ्लिमिथाङ रंगशालामा नेपाली समयअनुसार साँझ ५:४५ बजे सुरु हुने खेल नेपालका लागि प्रतियोगिताको तेस्रो प्रतिस्पर्धा हो।
यसअघि पहिलो खेलमा भारतसँग ७–० ले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २–१ गोल अन्तरले हराउँदै शानदार जित निकालेको थियो।
प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोली सहभागी छन्। डबल राउन्ड रोबिन विधिमा भइरहेको प्रतिस्पर्धामा सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि हात पार्नेछ।
हालसम्म भारतले दुई खेलमा ६ अंक जोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ। समान ३–३ अंक भए पनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा रहेका छन्।
नेपालले आजको खेलपछि अगस्ट २७ मा फेरि बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा आयोजक भुटानसँग प्रतिस्पर्धा गर्नेछ।
साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपाल यसअघि सातपटक सहभागी भइसकेको छ। सन् २०२२ मा नेपालले ऐतिहासिक उपाधि जितेको थियो भने भारत र बंगलादेशले दुई–दुई पटक विजेता बन्ने सफलता हासिल गरेका छन्।
नेपाली टिम :
झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दीक्षा रायमाझी, सम्झना चन्द, अलिजाकुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मीनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रविना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर र दीक्षा रनपाल।
Comment