चालु वर्षको पहिलो महिनामा निर्यात ९५ प्रतिशतले बढ्दा आयात ११ प्रतिशतले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको निर्यात दर अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बर वृद्धि भएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ९५.७५ प्रतिशतले बढ्दै २३ अर्ब ९३ करोड २४ लाख रुपैयाँबराबरको सामान निर्यात भएको हो । अघिल्लो वर्ष साउनमा मात्र १२ अर्ब २२ करोड ६१ लाख रुपैयाँबराबरको सामान निर्यात भएको थियो । आयाततर्फ भने ११.४२ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ४३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ । गत वर्ष साउनमा आयात १ खर्ब २८ अर्ब ३७ करोड ७७ लाख रुपैयाँबराबरको मात्र थियो । साउन महिनामा कुल १ खर्ब ६६ अर्ब ९७ करोड ३१ लाख रुपैयाँको वैदेशिक व्यापार हुँदा नेपालले १ खर्ब १९ अर्ब १० करोड ८२ लाख रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ ।

निर्यातको सूचीमा यसपटक पनि खानेतेल नै अग्रस्थानमा परेको छ । साउनमा मात्र १० अर्ब ६९ करोड ५८ लाख रुपैयाँबराबरको ५० लाख ७८ हजार २ सय ३४ किलो सोयाबिन तेल भारत निर्यात भएको छ । यस्तै ६७ करोड १२ लाख रुपैयाँबराबरको ३७ लाख ५६ हजार ३ सय ६५ लिटर पाम आयल र ६५ करोड १४ लाख रुपैयाँबराबरको ३४ लाख ८९ हजार ९ सय ७६ लिटर सनफ्लावर तेल समेत भारत निर्यात गरिएको छ । निर्यातको सूचीमा ५५ करोड १८ लाख ९५ हजार रुपैयाँबराबरको कार्पेट, ४६ करोड ३२ लाख रुपैयाँबराबरको पोलिस्टर धागो, ३४ करोड ८८ लाख ८५ हजार रुपैयाँबराबरको प्लाइउड, ३४ करोड २३ लाख रुपैयाँबराबरको कालो चिया र ३२ करोड १७ लाख रुपैयाँबराबरको ठूलो अलैंची समेत समावेश छन् ।

आयाततर्फ कच्चा सोयाबिन तेल सबैभन्दा बढी आएको छ । यस अवधिमा ८ अर्ब ७९ करोड ३६ लाख रुपैयाँबराबरको ५ करोड ८० लाख ७७ हजार ६ सय २६ लिटर सोयाबिन तेल अर्जेन्टिनाबाट आयात भएको छ । त्यस्तै ५ अर्ब ८८ करोड ७७ लाख रुपैयाँबराबरको डिजेल, ५ अर्ब ७७ करोड १४ लाख रुपैयाँबराबरको पेट्रोल र ४ अर्ब ६६ करोड ६४ लाख रुपैयाँबराबरको खाना पकाउने ग्यास आयात भएको छ । यसका साथै चीनबाट २ अर्ब ६८ करोड ११ लाख रुपैयाँबराबरको मोबाइल, भारतबाट १ अर्ब ४० करोड ५ लाख रुपैयाँबराबरको चामल र १ अर्ब २८ करोड ९५ लाख रुपैयाँबराबरको हवाई इन्धन नेपालमा भित्रिएको भन्सार विभागले जनाएको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।