काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको प्रयोगलाई अझ प्रोत्साहन गर्दै सिप्रदी ट्रेडिङ प्रा.लि.ले नाडा अटो शो–२०२५ को अवसरमा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल एक्सप्रेस–टी इभी का प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ।
टाटा मोटर्स को नेपालका लागि आधिकारिक वितरक सिप्रदीले यात्रु सेवा क्षेत्रमा विद्युतीय सवारीको प्रयोगलाई लोकप्रिय बनाउनेतर्फ उल्लेखनीय योगदान पुर्याएका तोयानाथ पोखरेल, जनार्दन फुयाल, विजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार अरन लाई सम्मानित गरेको हो।
सिप्रदीले उनीहरूको निरन्तर योगदान, यात्रु सेवाप्रतिको समर्पण र विद्युतीय सवारी प्रवर्द्धनमा देखिएको मेहनत लाई उच्च मूल्यांकन गर्दै सम्मान गरिएको जनाएको छ।
एक्सप्रेस–टी इभी विशेष रूपमा सार्वजनिक यातायात तथा ट्याक्सी सेवाका लागि डिजाइन गरिएको विद्युतीय सवारी हो। कम सञ्चालन खर्च, स्वरोजगार सिर्जना र इन्धनमा विदेशी निर्भरता घटाउने क्षमताका कारण यो सवारी अहिलेको परिवेशमा उत्तम विकल्पका रूपमा अघि बढिरहेको छ।
नाडा अटो शो २०२५ भदौ ३ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ र भदौ ८ गतेसम्म सञ्चालन हुनेछ। शोमा टाटा मोटर्स का विभिन्न नयाँ मोडलहरूको अवलोकन गर्न तथा सीमित अवधिका लागि उपलब्ध विशेष अफरहरूको फाइदा लिन सिप्रदी ट्रेडिङले सम्पूर्ण अटोप्रेमीहरूलाई अवलोकनका लागि खुला आमन्त्रण गरेको छ।
सिप्रदीले “सस्टेनेबल मोबिलिटी” को लक्ष्यमा अग्रसर रहँदै विद्युतीय सवारी साधनको विस्तारमा आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
Comment