काठमााडौं । महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म आइपुग्दा समग्र वित्तीय परिसूचकहरूमा उल्लेखनीय सुधार गरेको छ। बैंकले सन्तुलित अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै सकारात्मक वित्तीय प्रगति विवरण दिएको हो।
बैंकको हालसालै सार्वजनिक विवरण अनुसार, यो अवधिमा खुद नाफा ५० करोड रुपैयाँ पुगेको छ। बैंकको लाभांश वितरण क्षमतामा उल्लेख्य वृद्धि भएको छ र यो ११.५१ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको तुलनामा बैंकको निक्षेप संकलन ५६ अर्ब २२ करोड रुपैयाँ रहेको छ भने कर्जा लगानी ४५ अर्ब ८५ करोड रुपैयाँ पुगेको छ। बैंकको कर्जा परिचालनमा ५.०५ प्रतिशत वृद्धि भएको छ, जुन हालको प्रतिस्पर्धी वित्तीय बजारमा उल्लेखनीय मानिन्छ।
बैंकको कर्जा–निक्षेप अनुपात ८३.९८ प्रतिशत रहेको छ, जुन नियामक निकाय नेपाल राष्ट्र बैंकद्वारा तोकिएको सीमा भित्रै छ। साथै, बैंकको खराब कर्जा अनुपात ४.८६ प्रतिशतमा झरेको छ, जुन स्थायीत्व संकेत गर्छ।
सेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने पुँजी पर्याप्तता अनुपात पर्याप्त रहेको बैंकले जनाएको छ। यसले आगामी दिनमा व्यवसाय विस्तार गर्दा पुँजीगत दबाब नरहने संकेत गर्दछ।
बैंकको कोष लागत ४.५६ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशतले कम हो। यसले आधार दरमा समेत सकारात्मक असर पारेको छ, जसअनुसार बैंकको हालको आधार दर ६.५४ प्रतिशत रहेको छ। आधार दर कम हुँदा ऋणीले लिने कर्जामा लाग्ने ब्याज पनि कम हुने भएकाले ग्राहकहरू लाभान्वित हुने बैंकको भनाइ छ।
डिजिटल बैंकिङ्गतर्फ पनि बैंकले नवप्रवर्तन जारी राखेको छ। हालै मात्र बैंकले आफ्नो मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्ड सुविधा थप गरेको छ।
“सबल बैंक, सफल सहकार्य” नारालाई आत्मसात गर्दै देशभर १०३ शाखा र ८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको बैंकले आगामी दिनमा पनि गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै जाने प्रतिबद्धता जनाएको छ।
Comment