काठमाडौं । नेपालको बीमा बजार पछिल्ला वर्षहरूमा तीव्र रूपमा विस्तार हुँदै गएको छ। यसको प्रत्यक्ष प्रभाव जीवन बीमा कम्पनीहरूले बीमितहरूलाई दिने दाबी भुक्तानी रकममा पनि देखिएको छ।
आर्थिक वर्ष २०८०/८१ मा १४ जीवन बीमा कम्पनीहरूले कुल ७८ अर्ब ७२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्, जुन अघिल्लो वर्षको ६६ अर्ब ४ करोड रुपैयाँभन्दा करिब १९.२० प्रतिशतले बढी हो। बीमाको पोलिसीहरू परिपक्व हुँदै गएसँगै दाबी भुक्तानी बढेको हो, जसले बीमा बजारको परिपक्वता र विश्वसनीयता सुधार भएको जानकारहरूले बताएका छन्। जीवन बीमा कम्पनीहरूको व्यापार मोडेल दीर्घकालीन हुने भएकाले, पहिलो वर्षमा प्रिमियम तिरेपछि कम्पनीको दायित्व तत्काल देखिँदैन, तर पोलिसीहरू परिपक्व हुँदै गएपछि बीमितलाई रकम फिर्ता गर्नुपर्ने अवस्था आउँछ। बीमा कम्पनीहरूका अनुसार असार मसान्तमा दाबी भुक्तानी अन्य समयमा भन्दा बढी हुने गर्दछ।
गत आवमा सबैभन्दा बढी दाबी भुक्तानी गर्ने कम्पनी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ, जसले १९ अर्ब १९ करोड रुपैयाँ भुक्तानी गरेको छ, यो अघिल्लो आवको तुलनामा २८ प्रतिशत बढी हो। दोस्रो स्थानमा एलआईसी नेपाल लाइफ इन्स्योरेन्स रहेको छ, जसले १२ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ। तेस्रोमा नेसनल लाइफ इन्स्योरेन्स छ, जसले गत आवमा ११ अर्ब ७ करोड रुपैयाँ भुक्तानी गरी सबैभन्दा बढी ३२.९४ प्रतिशत वृद्धि देखाएको छ। त्यस्तै, सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ६ अर्ब ५६ करोड रुपैयाँ र हिमालयन लाइफले ७ अर्ब ३३ करोड रुपैयाँ भुक्तानी गरेका छन्। अन्य कम्पनीहरूमा एशियन लाइफले ६ अर्ब १८ करोड, सूर्यज्योति लाइफले ३ अर्ब ६९ करोड, मेट लाइफले २ अर्ब ९४ करोड रुपैयाँ भुक्तानी गरेको तथ्यांक छ।

साना कम्पनीहरूमा सिटिजन लाइफले १ अर्ब ९१ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ७७ करोड, सन नेपाल लाइफले १ अर्ब ५७ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ४३ करोड, आइएमई लाइफले १ अर्ब २८ करोड र प्रभु महालक्ष्मी लाइफले १ अर्ब १५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन्। यद्यपि, सूर्यज्योति लाइफ, मेटलाइफ र सानिमा रिलायन्स लाइफले दाबी भुक्तानीमा केही कमी देखाएका छन्। सूर्यज्योति लाइफको दाबी भुक्तानी ८.९१ प्रतिशतले घटेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ भने सानिमा रिलायन्सको १०.८४ प्रतिशतले घटेर १ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ। मेटलाइफको भुक्तानी पनि ८.९४ प्रतिशतले घटेको छ।
यसरी बीमा पोलिसीहरूको परिपक्वता र बजार विस्तारसँगै दाबी भुक्तानी रकममा उल्लेखनीय वृद्धि देखिएको छ, जुन बीमा क्षेत्रमा भएको सकारात्मक प्रगतिका सूचक मानिन्छ। यद्यपि, अर्थतन्त्रको सुस्त गतिले दाबी भुक्तानी वृद्धिलाई सीमित बनाएको पनि विशेषज्ञहरूले बताएका छन्। आगामी दिनमा बीमा बजारमा थप स्थिर वृद्धि र दाबी भुक्तानीमा निरन्तरता आउने अपेक्षा गरिएको छ।
Comment