चालू आवको पहिलो महिनामै राजस्व संकलनमा कमी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामै कम राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार एक महिनामा ८५ अर्ब १९ करोड ६५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सो रकम गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको राजस्व संकलनको तुलनामा ७ अर्ब ९२ करोड कम राजस्व संकलन भएको हो ।

महालेखाका अनुसार गत साउनमा ९३ अर्ब १२ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

सरकारले चालू आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट ८० अर्ब ६७ करोड ७ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ६.०९ प्रतिशत संकलन गरेको छ ।

गैर कर राजस्वबाट ३ अर्ब ७९ करोड ५० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको २.४६ प्रतिशत संकलन भएको विवरणमा उल्लेख गरिएको छ ।यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख रुपैयाँ र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख रुपैयाँ संकलन भएको छ ।

यस वर्ष कर राजस्व १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ, गैर कर राजस्व १ खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ गैर कर राजस्व र वैदेशिक अनुदानतर्फ ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ संकलन गर्ने सरकारको लक्ष्य रहेको छ ।

चालू आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरिएकोमा साउन मसान्तसम्ममा ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । चालू खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म १.५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ खर्च भएको महालेखाले जनाएको छ ।

यस्तै, सबैभन्दा कम पुँजीगत शीर्षकमा खर्च भएको छ । पुँजीगत खर्चतर्फ ४ खर्ब ७ अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकोमा ०.१८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालू आवका लागि वित्तीय व्यवस्था शीर्षकमा ३ खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बजेट विनियोजन भएकोमा साउन मसान्तसम्म ७.२२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको महालेखाले उल्लेख गरेको छ ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।