काठमाडौँ । हिरो मोटोकर्पको लोकप्रिय बाइक सुपर स्प्लेन्डर १२५ अब नेपाली बजारमा उपलब्ध भएको छ। नेपालका लागि हिरोको आधिकारिक वितरक सीजी मोटर्सले ‘नाडा अटो शो २०२५’ मा बाइक सार्वजनिक गर्दै यसको औपचारिक बिक्री सुरु गरेको हो।
डिजाइन, प्रविधिमैत्री फिचरहरू र किफायती मूल्य संयोजनसहित आएको यो बाइक सहर तथा दैनिक प्रयोगका लागि उपयुक्त विकल्प हुने अनुमान गरिएको छ।
नयाँ सुपर स्प्लेन्डर १२५ मा १२४.७ सीसी बीएस६ इन्जिन, ५-स्पीड गियरबक्स र १०.७ बीएचपी पावर क्षमता दिइएको छ। यी विशेषताले बाइकलाई शक्तिशाली तथा इन्धन दक्ष बनाएको छ।
साथै, बाइकमा एलईडी हेडल्याम्प, डिजिटल स्पीडोमिटर, ब्लुटुथ कनेक्टिभिटी, एसएमएस/कल अलर्ट, यूएसबी चार्जिङ पोर्ट र रियल टाइम माइलेज देखिने फिचर जस्ता आधुनिक प्रविधिहरू समावेश गरिएको छ, जसले प्रयोगकर्तालाई स्मार्ट र सहज अनुभव दिनेछ।
नयाँ स्टाइल र अपडेटेड भाइजरसहित आएको सुपर स्प्लेन्डरको मूल्य रु २ लाख ६६ हजार ९०० निर्धारण गरिएको छ।
हिरो मोटोकर्पको यस नयाँ संस्करणले नेपाली ग्राहकलाई गुणस्तरीय, भरपर्दो र आधुनिक मोटरसाइकलको अनुभव दिने अपेक्षा गरिएको छ।
Comment