‘आचार्य’ को छायांकन गर्न भारततर्फ लागे निखिल उप्रेती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । अभिनेता तथा निर्देशक निखिल उप्रेती आफ्नो नयाँ फिल्म ‘आचार्य’ को छायांकनका लागि भारत प्रस्थान गरेका छन्। मंगलबार निखिलसहितको निर्माण टोली काठमाडौंबाट पश्चिम बंगालतर्फ प्रस्थान गरेको हो। सार्वजनिक तस्विरहरूमा निखिलसँगै अभिनेत्री तथा निर्मात्री सञ्चिता लुइँटेल, कलाकार पुर्णिका सिंजापति, छायांकार मनु बिके, र मुख्य सहायक निर्देशक सयनम अधिकारी देखिन्छन्।

फिल्मको पहिलो चरणको छायांकन यही भदौ ६ गते ९अगस्ट २२०, शुक्रबारबाट भारतको सुन्दर प्राकृतिक स्थल ‘डुअर्स’ बाट सुरु हुँदैछ। त्यसपछिका सेड्युलहरूमा बाग्डोरा, सिलिगुरी र ठाकुरगञ्ज जस्ता ठाउँहरू समेटिनेछन्। निखिलले जानकारी दिएअनुसार, दोस्रो चरणमा मुम्बई, नासिक र झारखण्ड, अनि तेस्रो चरणमा नेपालमा छायांकन गरिनेछ। फिल्मको सम्पूर्ण छायांकन ६० दिनभित्र सक्ने लक्ष्य रहेको उनले बताए।

फिल्म ‘आचार्य’ मा निखिल स्वयं मुख्य भूमिकामा देखिने छन्। साथै, कलाकारहरूमा पूर्णिका सिंजापति, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया र विशाल पहारी समेत रहेका छन्। साथै, बलिउड र दक्षिण भारतीय फिल्ममा काम गरिसकेका केही चर्चित कलाकारहरू पनि फिल्ममा देखिने चर्चा छ। तर यतिबेला निखिलले ती नामहरू गोप्य राख्दै, फिल्मसँग जोडिएका केही ‘सरप्राइज’ समयक्रममा खुल्ने बताएका छन्।

निखिलले ‘आचार्य’लाई विश्वस्तरीय एक्सन फिल्म बताउँदै ठूलो मेहनतका साथ तयार पारिरहेको जानकारी दिए। खास विशेषता के छ भने, यसै फिल्मबाट अभिनेत्री सञ्चिता लुइँटेलले कोरियोग्राफरको रूपमा डेब्यु गर्न लागेकी छन्। उनले नेपाली र हिन्दी संस्करणमा तयार हुने एक गीतमा कोरियोग्राफी गर्नेछिन्।

निखिल उप्रेतीले यसअघि निर्देशन गरेको फिल्म ‘भैरव’ २०१५ मा सार्वजनिक भएको थियो। ‘आचार्य’ उनको दोस्रो निर्देशन हो, जसबाट नेपाली फिल्म क्षेत्रमा नयाँ शैली र स्तरको एक्सन हेर्न पाइने अपेक्षा गरिएको छ।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।