मंसिर १२ देखि राजधानीमा छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकरण, औद्योगिकीकरण, आधुनिकीकरण र व्यवसायीकरणतर्फ उन्मुख गराउने उद्देश्यले राजधानी काठमाडौंको भृकुटीमण्डपमा मंसिर १२, १३ र १४ गते ‘छैठौं राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी–२०८२’ आयोजना हुने भएको छ।

नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको कृषि विभाग मातहत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) को संयुक्त आयोजनामा हुने प्रदर्शनी ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने नाराका साथ सञ्चालन हुनेछ। प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, डेरी, पुष्प खेती, व्यावसायिक तरकारी खेती, सिँचाइ, पोस्ट–हार्भेस्ट, कोल्ड स्टोर, प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित नवीनतम प्रविधि, यन्त्र, उपकरण र बीउविजनसमेत प्रदर्शनमा राखिनेछ। करिब १ सय ५० प्रदर्शनीकर्ताको सहभागिता रहने अनुमान गरिएको छ भने करिब २० मुलुकका २ सयभन्दा बढी स्टलमार्फत २ हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण र प्रविधिहरू प्रदर्शनीमा प्रस्तुत गरिनेछन्। नामियाका सदस्य व्यवसायीहरूले प्रदर्शनीमा विशेष छुट पाउनेछन् भने सर्वसाधारणका लागि प्रवेश निःशुल्क हुनेछ।

आयोजकका अनुसार प्रदर्शनीको उद्देश्य कृषि यन्त्र तथा प्रविधि सम्बन्धी उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीति–निर्माता, विज्ञ र कृषकबीच समन्वय र सहकार्यको वातावरण सृजना गर्नुका साथै उपभोक्ता र नीति–निर्मातालाई नवीनतम प्रविधिको जानकारी दिनु, व्यावसायिक कृषि प्रणालीमा चेतना अभिवृद्धि गर्नु, आन्तरिक बजार प्रवर्द्धनमा सहयोग पु¥याउनु र लगानीको अवसर सिर्जना गर्नु रहेको छ। प्रदर्शनीमा विद्यार्थी, शिक्षक, अनुसन्धानकर्ता, वैज्ञानिक, कृषक समूह, सहकारी संस्था, उद्यमी, व्यवसायी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

यसअघि नेपालमा पाँच पटक राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी, एक पटक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी र एक पटक प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी सम्पन्न भइसकेका छन्। पहिलो प्रदर्शनी २०७० सालमा चितवनको भरतपुरमा सम्पन्न भएको थियो भने पछिल्लो पटक २०८० सालमा कास्कीको पोखरामा प्रादेशिक कृषि यान्त्रिकरण प्रदर्शनी आयोजना भएको थियो। आयोजकले यसपटकको प्रदर्शनीले कृषिमा यान्त्रिकरण प्रवर्द्धन गर्ने मात्र नभई कृषकलाई आधुनिक व्यवसायिक प्रणालीतर्फ आकर्षित गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।

एक्ट प्रो नेपालमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। फेसबुकट्वीटर मार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।