काठमाडौं ।उपसभामुख इन्दिरा रानामगरको पदीय आचरणलाई लिएर उठिरहेको विवादबीच प्रमुख विपक्षी दल नेकपा माओवादी केन्द्रले विपक्षी दलहरूको बैठक बोलाएको छ।
सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेस उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारीमा लागिरहेका बेला माओवादी केन्द्रले बैठकको आह्वान गरेको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनीष झाले दिएको जानकारी अनुसार, बैठक सोमबार अपराह्न ३ बजे सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बस्नेछ।
“उता (सत्तापक्ष कांग्रेस-एमाले) हस्ताक्षर संकलन भइरहेको छ,” सांसद झाले भने, “यता किन र केका लागि हस्ताक्षर संकलन भइरहेको छ भन्नेबारे छलफल गर्न माओवादीको पहलमा विपक्षी बैठक बोलाइएको हो।”
यसबीच, नेपाली कांग्रेस संसदीय दलको सिंहदरबारस्थित कार्यालयमा कांग्रेस–एमालेसहितको सत्तारूढ गठबन्धनको बैठक पनि जारी रहेको छ।
सत्तारूढ गठबन्धनले उपसभामुख रानामगरको पछिल्लो व्यवहार र निर्णयप्रति असन्तुष्टि जनाउँदै उनलाई हटाउने प्रयास थालेको जनाइएको छ, तर यस विषयमा औपचारिक निर्णय आउन बाँकी छ।
Comment