काठमाडौं । बन्दीपुर केवलकार एन्ड टुरिजमको आईपीओमा भदौ ११ गतेदेखि आवेदन दिन पाइने भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरिसकेको कम्पनीले सर्वसाधारणका लागि आईपीओ खुला गर्न लागेको हो ।
कम्पनीले जारी पुँजी २ अर्ब ८३ करोड रुपैयाँको यसमा २०.७०६७ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँ बराबरको ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्दै छ । जसमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता, वैदेशिक रोजगारीमा रहेकाका लागि ५ लाख २९ हजार ४०० कित्ता, कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता तथा सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता सेयर बाँडफाँड गरी बाँकी रहेको ४३ लाख ४१ हजार ८० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।
दोस्रो चरणमा सर्वसाधारणले प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओमा न्यूनतम आवेदन १० कित्तादेखि २० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । मागअनुसार आवेदन परेमा आईपीओ निष्काशन भदौ १५ सम्म खुला रहनेछ ।
बन्दीपुर केबलकारको अनुमानित कुल लागत ३ अर्ब ८५ करोड रूपैयाँ रहेको छ । परियोजनामा गरेको लगानी फिर्ता साधारण अवधि ८.२२ वर्ष र डिस्काउन्टमा १०.०५ वर्ष रहेको छ । आईपीओ जारी गर्ने कम्पनीलाई रेटिङ एजेन्सी केयरले डबल बी इस्यूअर रेटिङ दिएको छ ।
आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैंकिङ हो ।
Comment