काठमाडौं। काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी केन्द्रमा आजदेखि १७औँ नाडा अटो शो सुरु भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को आयोजनामा सुरु भएको यो मेला देशकै सबैभन्दा ठूलो सवारीसाधन प्रदर्शनी मानिन्छ।
भदौ ८ गतेसम्म चल्ने शोको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति रहेको थियो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नाडाका अध्यक्ष करण चौधरीले यसपटकको अटो शोमा केही नयाँ तथा रोचक प्राविधिक आकर्षण थपिएको जानकारी दिए। उनका अनुसार, यसपटक दर्शकहरूले ‘दिपल’को उड्ने ट्याक्सी र मानवीकृत रोबोटको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।
त्यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सवारी साधन आयातसम्बन्धी मापदण्ड तयार गरिरहेको उल्लेख गर्दै उनले नाडासँग सहकार्य गरेर अघि बढ्ने अपेक्षा व्यक्त गरे।
चौधरीले नेपाल विद्युत् प्राधिकरण र नाडाको सहकार्यमा देशभर चार्जिङ स्टेसन निर्माण भइरहेको जानकारी दिंदै चाँडै विद्युतीय सवारीको पूर्वाधारसम्बन्धी समस्या समाधान हुने विश्वास व्यक्त गरे।




Comment